कविता :आत्महत्या

कविता :आत्महत्या



कलाकार निरु खड्का नेपाली दर्शकहरूमाझ परिचित नाम हो। हास्य टेलिसिरियल ‘मेरी बास्यै’मार्फत् लोकप्रिय बनेकी उनले थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशनसमेत गरेकी छन्। अध्ययनमा विशेष रुचि राख्ने खड्का पछिल्लो समय कविता लेखनमा समेत सक्रिय छिन्। उनको ‘आत्महत्या’ शीर्षकको कविता:
सुन न साथी कविता :आत्महत्या
आहा! क्या सुन्दर सम्झना,
गुच्चा, डन्डीबियो र चुङ्गी खेल्दै
बितेको त्यो बालापन।
एक हातले फ्रक समाती,
अर्को हातले सिंगान पुछ्दै
भातको फूका डल्लो चपाउँदै
स्कुल दौडिएको त्यो निश्चल पल।
बेञ्चको कुनामा टाँस्थ्यौं चुइगम,
रसिलो मान्दै महिनौं चपाउँथ्यौं,
पढाइभन्दा, अघिल्तिर बस्ने साथीको
टाउकोको जुम्रा गन्थ्यौं हामी।
छोरा थिए स्वतन्त्र,
छोरी थिए घरभित्र
जब चेतना ब्यूँझियो र मनले बुझ्यो कुरा
घुलियो विष बालापनमा
असमानतासँग विद्रोह गर्‍यो बाल मस्तिष्कले,
नसुनिएपछि आवाज
एक मिटर सलले झुण्ड्याउन खोज्यो
एघार वर्षे जीवन।
थाहा छ साथी ?
जब तिमीहरू निस्फ्रिक्री खेल्थ्यौं चउरमा
खेल्थ्यो नानाभाँतीका कुरा मेरा मनमा
मीठो हाँसोले गुञ्जिन्थ्यो कक्षाकोठा
आँसुका ढिक्का खस्थे त्यतै कुनामा,
भविष्यका योजना बुन्थ्यौं सबै
अन्धकार मात्र देख्थें कठै
खडेरी परेर पट्पट् फुटेको
बाँझो खेतको माटो जस्तो मेरो मन
निराशाका बादलले छप्पकै छोप्छ अहिले पनि
खोल्दिन मनका कुरा
पराइ लाग्छन् आफन्तहरू,
मीठो निन्द्राको आशमा
फेरेँ सिरानी मैले कतिकति,
नमीठो एक्लोपनले डोर्‍याउँछ बेस्सरी
मृत्यु रोज्न लगाउँछ जीवन छाडी।
धर्तीको बोझ लाग्छ आफैंलाई,
अनि एकान्तमा भक्कानिन्छ मन बेस्सरी
बलिन्द्र आँसुले किन पखाल्दैन मनको बेचैनी?
बाहिरी चोट लाग्दा
अहो! ख्याल राखे है भन्छन् सबैले,
भित्री चोट न देखाउन मिल्ने, न देख्ने कसैले।
तर, एकदिन भोगेको पीडा
समाजलाई भनेँ मैले,
त्यसपछि त के थियो र?
छिमेकीहरूले पाइला गन्न थाले,
उपकारी मानिने हाकिमले
मेरै जागिरै खोसिदिए,
जो थिए नजिक मनको, उनीहरू नै टाढा बने।
भन्छ्न्
कायरले मात्र गर्छ आत्महत्या
म त भन्छु-
जीवनभरको साहसिक काम हो आत्महत्या
मृत्यु शाश्वत् छ
जीवन उत्तिकै प्यारो छ
अनाहकमा मर्न को चाहन्छ?
जब गुम्छ होस् तब न हुन्छ आत्महत्या।
जब हुन्छ कञ्चन मन र मष्तिस्क
बुन्छु मीठो मीठो सपना म पनि,
इन्द्रेणीको सातै रङ्ग आँखामा सजाउँछु,
सेता हिमालको बीचबाट
उदाउँदै गरेको कलिलो सूर्य स्पर्श गर्छु,
रङ्गीबिरङ्गी पुतली र फूलहरुसँगै
मन खोलेर नाँच्छु,
ईश्वर बस्ने मनमा
आस्थाको दियो बाल्छु
जीवन अभिशाप होइन
हो यो त प्रकृतिको अनुपम उपहार–
यही कुरा बुझ्छु ,बुझाउँछु।
प्रिए साथी
भन्नू छ विश्वलाई
जसरी भाँचिन्छ हातगोडा
उसैगरी भाँचिन्छ मन पनि,
जसलाई हुन्छ मनको रोग, सुनाउनुपर्छ
र सुन्नेले दिनुपर्छ प्रेम र हौसला
किनकि
जीवन होइन अभिसाप
यो त हो
प्रकृतिको अनुपम उपहार

Comments

Popular posts from this blog

साली त परानि भइगै, छुट्टक्कै मन चोरी लैगै भाइरल जोडीको नयाँ देउडा गीत बजारमा

रोपाइँको सौराइलाई समर्पित मौलिक गीत सार्वजनिक जनक साउँद र टिमको उत्कृष्ट सांगीतिक प्रयास

मन–माया को सफलता पछि गायक टंक तिमिल्सिना नयाँ उचाइमा, युट्युबमा १० लाख सब्सक्राइबरको उपलब्धि